
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन विधान संशोधन बिना नै हुने भएको छ । संघको तदर्थ कार्यसमितिले संघको विधान संशोधनका लागि अध्ययन गरी प्रतिवेदन तयार गर्न निवर्तमान महासचिव सुजितकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।
तर संघको साधारणसभाको मिति आउन साढे दुई हप्ताको समय बाँकी रहँदा विधान संशोधनका विषयमा ठोस् उपलब्धि हासिल हुन नसकेको निवर्तमान महासचिव श्रेष्ठले बताए । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भई काम गरेको हुनुपर्ने प्रावधान छ ।
पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने भन्ने विधानमा व्यवस्था छ । उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाई कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सीमित पूर्वपदाधिकारी व्यवसायीलाई मात्रै अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरिएको भन्ने आवाज उठेपछि संघको तदर्थ कार्यसमितिले त्यसमा उपयुक्त रायसहितको सुझाव दिन निवर्तमान महासचिव श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदल गठन भएपछि तदर्थ समितिका सदस्य एवम् नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने लगायतका व्यवसायीहरूले इजाजतपत्र प्राप्त गरी लगातार पाँच वर्ष काम गरेको व्यवसायीलाई संघको अध्यक्ष बन्ने योग्यता तोक्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए ।
संघका संयोजक विमल ढकाल विधान संशोधनपछि मात्रै निर्वाचन गराउने पक्षमा छन् । संघका निवर्तमान महासचिव श्रेष्ठले संघको विधान संशोधनका विषयमा राय सुझाव लिइरहेको भएपनि मूल विषयमा व्यवसायीहरूले खासै चासो नदेखाएको बताए ।
मध्यान्ह दैनिकसँगको कुराकानीमा श्रेष्ठले भने, ‘विधानका धेरै दफाहरू एक आपसमा बाझिएका छन्, अध्यक्षको उम्मेदवार बन्ने मापदण्ड पनि समय सापेक्ष नरहेको धेरैतिरबाट सुझाव आएको भएपनि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले समितिमा प्रतिनिधि पठाउन समेत अनिच्छा देखाएका कारणले अध्ययन र सुझावलाई ठोस् आकार दिन सकिएन । पुरानै विधानका आधारमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचन गर्नुपर्ने अवस्था छ ।
Source::https://bideshijobs.com/